धनकुटामा पानी र चुदारोको सहारामा ठेकी बनाइँदै

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०९:५८

धनकुटा । आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गए पनि धनकुटाका केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधि अझै जीवित छ । महालक्ष्मी नगरपालिका–४ का दीर्घबहादुर पौडेल पानी र चुदारोको सहायताले परम्परागत शैलीमा ठेकी बनाउँदै आएका छन् ।

पौडेलले फुर्सदको समयमा ठेकी बनाउने गरेका छन् । खेतीपाती लगाउने र बाली उठाउने समयबाहेकको समयमा उनी ठेकी बनाउने काममा व्यस्त हुन्छन् । उनले वर्षमा करिब १०० वटा ठेकी बनाउने गरेको बताए । पौडेलले दुईदेखि ३८ कुरुवासम्म अट्ने विभिन्न आकारका ठेकी बनाउँदै आएका छन् । ठेकीसँगै उनले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेका छन् ।

परम्परागत तरिकाले बनाइएको ठेकी प्रतिकुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । दुई कुरुवा अट्ने सानो ठेकी ६०० रुपैयाँमा बिक्री हुन्छ भने ३८ कुरुवा अट्ने ठेकीको मूल्य करिब ११ हजार ४०० रुपैयाँ पर्छ । ठेकी बिक्रीबाट आफूले वार्षिक करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको पौडेलले बताए ।

उनका अनुसार विद्युत्बाट चल्ने मेसिनको प्रयोग गरेर बनाइने ठेकीको तुलनामा परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा करिब १०० रुपैयाँ सस्तो पर्छ । त्यसैले चुदारोको प्रयोग गरेर परम्परागत शैलीमा बनाइएका ठेकीको माग बजारमा अझै राम्रो रहेको उनले बताए ।

ठेकी निर्माणको परम्परागत विधि पनि श्रम र सीपमा आधारित छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साँचो घुमाइन्छ । त्यसपछि साँचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आवश्यक आकारमा ढालिन्छ । यही प्रक्रियाबाट तयार हुने ठेकीमा कालिगढको सीप र कलात्मकता देखिन्छ ।

ठेकी बनाउन मुख्यतः दार र कटहरको काठ उपयुक्त मानिन्छ । दार र कटहरको काठबाट बनाइएको ठेकीमा दूध जमाउँदा दही र मोही स्वादिलो हुने स्थानीय मान्यता छ । तर पछिल्लो समय काठ र चुदारोको अभाव हुन थालेपछि ठेकी बनाउने परम्परागत सीप नै हराउँदै जाने चिन्ता बढेको छ ।

महालक्ष्मी–४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ। पानी र चुदारोको प्रयोगबाट ठेकीसँगै कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उनले बताए ।

उनका अनुसार केही समयअघि गाउँमा विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन ल्याइए पनि त्यसको दीर्घकालीन सञ्चालन हुन सकेन । पानी र चुदारोको प्रयोगबाट उत्पादन गरिने सामग्री सस्तो पर्ने मात्र नभई वातावरणमैत्री र दिगोसमेत हुने बूढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×