‘एल निनो’ तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्लुएमओको अनुमान

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १३:४१

एजेन्सी । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै ‘एल निनो’ तीव्र बन्दै गएको छ । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार हालको एल निनो आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने सम्भावना छ । यो सन् १९५० यताकै शक्तिशाली एल निनोमध्ये एक हुन सक्ने चेतावनीसमेत दिइएको छ । यो प्राकृतिक रुपमा विश्वभर असर पर्न सक्ने प्रतिकूल मौसमी अवस्था हो ।

डब्लुएमओकी प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताएकी छन् । उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ ।

डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी थियो । अगस्टमा यो अन्तर बढेर २.५ डिग्री सेल्सियस पुगेको थियो । अक्टोबरदेखि डिसेम्बरसम्म समुद्री सतहको तापक्रम औसतभन्दा करिब ३.७ डिग्री सेल्सियस बढी हुने अनुमान गरिएको छ । यो सन् २०१५–१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।

साउलोका अनुसार एल निनोले पृथ्वीमा नयाँ ताप थप्ने होइन, समुद्रमा सञ्चित ताप बाहिर ल्याउने गर्छ । हाल समुद्र आफूहरूले मापन गरेयताकै सबैभन्दा तातो अवस्थामा रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उनले बताइन् ।

एल निनोका कारण विश्वका धेरै क्षेत्रमा औसतभन्दा बढी तापक्रम र वर्षाको ढाँचामा परिवर्तन आउन सक्छ । यसले खडेरी र बाढीको जोखिम बढाउनुका साथै अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत असर पार्ने डब्लुएमओले जनाएको छ ।

सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखिने एल निनो करिब नौदेखि १२ महिनासम्म रहने गर्छ । यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो ।

हालको एल निनोको प्रभाव मध्य अमेरिकालगायत केही क्षेत्रमा देखिन थालिसकेको छ । त्यहाँ खडेरीका कारण जनावर र बालीमा क्षति पुगेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×