
विराटनगर । पत्रकार अर्जुन आचार्य मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् ।
आगामी स्थानीय तह निर्वाचनका लागि रास्वपाले अघि सारेको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत उनले केही महिनाअघि नै आवेदन दिएका हुन् ।
कानेपोखरी गाउँपालिका–४ भौँसाबारी स्थायी ठेगाना भएका आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल रातोपाटी डटकममा आर्थिक, संसदीय मामिला, खोजमूलक तथा समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।
पत्रकारितामार्फत सार्वजनिक चासोका विषय उठाउँदै आएका आचार्यले अब स्थानीय तहको नेतृत्वमा पुगेर विकास र नीतिनिर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने उद्देश्यसहित राजनीतिमा पाइला चालेको बताए । उनले कानेपोखरीको समग्र विकासका लागि स्पष्ट योजना रहेको दाबी गरे ।
स्थानीय तहमा अझै पनि आधारभूत आवश्यकताको न्यायोचित वितरण हुन नसकेको उल्लेख गर्दैै आचार्यले भने, ‘गाउँपालिकाको नेतृत्वमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध तथा नतिजामुखी काम गर्ने मेरो मुख्य उद्देश्य हो ।’
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन आह्वान गरेको छ । पार्टीले २०८३ साउन १३ गतेको केन्द्रीय समिति बैठकबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । भदौ १ गतेदेखि क्लबमा आवेदन खुला गरिएको थियो ।
पार्टीले सार्वजनिक गरेको उम्मेदवार छनोटसम्बन्धी रूपरेखाअनुसार क्यान्डिडेट क्लबमा आवेदन दिनु मात्रै आधिकारिक उम्मेदवार बन्नु होइन । आकांक्षीले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसमा व्यक्तिगत पृष्ठभूमि, कानुनी योग्यता, अनुभव र सार्वजनिक छविको परीक्षणसँगै ‘लिडरसिप एकेडेमी’ को प्रशिक्षण, योग्यता परीक्षण, मूल्यांकन र प्रारम्भिक निर्वाचनसमेत समावेश छन् ।
रास्वपाले उम्मेदवार छनोटलाई योग्यता, क्षमता र स्थानीय स्वीकार्यतामा आधारित बनाउने बताउँदै आएको छ । पार्टीको घोषित प्रक्रियामा प्रारम्भिक निर्वाचनलाई समेत महत्त्व दिइएको छ । त्यसैले क्यान्डिडेट क्लबमा आबद्ध आचार्यको उम्मेदवारी पनि छनोटका बाँकी प्रक्रिया पूरा भएपछि मात्रै टुंगो लाग्नेछ ।

























