चार वर्षपछि कोशी प्रदेशसभाले पारित गर्‍यो आफ्नै सञ्चालन नियमावली

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १९:१६
कोशी प्रदेश सभा सचिवालय

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि प्रदेशसभा सञ्चालनसम्बन्धी नयाँ नियमावली पारित भएको छ । प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य हुनुअघि शनिबार बसेको बैठकले ‘प्रदेशसभा सञ्चालन नियमावली’ सर्वसम्मतिले पारित गरेको हो।

नियमावली मस्यौदा समितिका सभापति रेवतीरमण भण्डारीले बैठकमा पेस गरेको ‘प्रदेशसभा नियमावली मस्यौदा समिति, २०८३ को प्रतिवेदन’ सभाबाट सर्वसम्मतिले पारित भएको हो । प्रदेशसभाको चालु अधिवेशन शनिबार रातिदेखि अन्त्य हुँदैछ।

यसअघि पहिलो प्रदेशसभा सञ्चालन नियमावलीकै आधारमा प्रदेशसभाको कामकारबाही सञ्चालन हुँदै आएको थियो । नयाँ नियमावलीले विगतका अस्पष्टता हटाउँदै सभा सञ्चालनलाई थप प्रभावकारी बनाउने मस्यौदा समिति सभापति भण्डारीले बताए ।

प्रदेशसभाको नियमावली निर्माणका लागि यसअघि २०७९ माघ २३ गते सांसद लीलाबल्लभ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । तर, उक्त समितिले तयार पारेको मस्यौदामा सहमति जुट्न सकेको थिएन । पछि रेवतीरमण भण्डारीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएपछि सहमति जुटाउँदै परिमार्जित मस्यौदा तयार पारिएको थियो ।

नयाँ नियमावलीमा पूर्वसांसदहरूको अनुभवलाई प्रदेशसभासँग जोड्न  ‘लुज फोरम’ निर्माण गर्ने प्रावधान राखिएको छ । त्यसैगरी, महिला सांसदका विशेष मुद्दालाई सम्बोधन गर्न तथा उनीहरूको क्षमता विकासका लागि छुट्टै फोरमको व्यवस्था गरिएको छ।

प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुअघि नियमावली पारित भएसँगै प्रदेशसभाको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×