
काठमाडौं । विद्यार्थी राजनीतिमा लागेर सडकमा भाषण गर्ने युवा, पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउने नेता, संसद्मा सक्रिय सांसद र सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका गगनकुमार थापा अब नेपाली कांग्रेसको सभापति बनेका छन् ।
लामो राजनीतिक प्रतिस्पर्धा, संगठनभित्रको संघर्ष र नेतृत्व परिवर्तनको अभियान पार गर्दै उनी पार्टीको सर्वोच्च पदमा पुगेका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गरे ।
निर्वाचन समितिका अनुसार ७ हजार ३१७ मतदाता रहेकामा ७ हजार ३९ मत खसेको थियो । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत मात्रै पाए । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
थापाले प्राप्त गरेको मतले पार्टीभित्र उनको नेतृत्वलाई बलियो आधार दिएको छ । तर, सभापति निर्वाचित हुनु उनको राजनीतिक यात्राको अन्तिम उपलब्धि नभएर कांग्रेसलाई नयाँ दिशा दिने जिम्मेवारीको सुरुआत हो ।
२०३३ साल साउन ४ गते सोलुखुम्बुमा जन्मिएका थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनको परिवेशबाट अघि बढेको हो । काठमाडौंको सिद्धार्थ वनस्थली हाइस्कुलमा अध्ययन गरेका उनी विद्यार्थी राजनीतिमा सक्रिय हुँदै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध भए । राजनीतिमा उनको सक्रियता बढ्दै जाँदा विद्यार्थी संगठनभित्र जिम्मेवारी पनि थपिँदै गए ।
२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य बनेका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका उनी २०५९ देखि २०६१ सम्म महामन्त्री रहे । विद्यार्थी संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा नै उनले आफ्नो राजनीतिक क्षमता र वक्तृत्वकलाको परिचय दिन थालेका थिए ।
तर, थापालाई देशव्यापी रूपमा चिनाउने निर्णायक मोड २०६२–०६३ को जनआन्दोलन बन्यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध उनले दिएका भाषणले उनलाई युवा पुस्ताका निर्भीक नेताका रूपमा स्थापित गर्यो । आन्दोलनको सडकबाट प्राप्त यही पहिचानले उनलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने आधार तयार गर्यो ।
त्यसपछि थापाले कांग्रेसभित्र दका लागि प्रतिस्पर्धा गर्नेभन्दा पनि पार्टीको नेतृत्व शैली, संगठन र पुस्तान्तरणको विषयलाई राजनीतिक एजेन्डा बनाउँदै लगे । कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका उनी १३औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बने । त्यस निर्वाचनमा उनी तेस्रो स्थानमा रहे पनि पार्टीको नेतृत्व तहमा पुग्ने उनको प्रयास रोकिएन ।
१४औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थापा सर्वाधिक मतसहित विजयी भए । महामन्त्री बनेपछि उनले पार्टी सुधार, नेतृत्व परिवर्तन र संगठनलाई समयअनुकूल बनाउने विषयलाई थप जोड दिए । कांग्रेसभित्र पुरानो नेतृत्वको निरन्तरता र नयाँ पुस्ताको दाबीबीच बढ्दै गएको बहसमा उनी परिवर्तनको पक्षमा उभिने प्रमुख नेताका रूपमा देखिए ।
थापाको संसदीय यात्रा पनि उनको राजनीतिक उचाइसँगै अघि बढ्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका उनी २०७०, २०७४ र २०७९ सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । संसद्को कृषि तथा जलस्रोत समितिको सभापति र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले संसदीय तथा कार्यकारी अभ्यासको अनुभव हासिल गरे ।
२०७३ सालमा स्वास्थ्य मन्त्री बनेका थापाले स्वास्थ्य क्षेत्र सुधारका विषयमा चासो देखाएका थिए । संविधान निर्माण, संसदीय अभ्यास र सरकार सञ्चालनको अनुभवसँगै उनले आफ्नो राजनीतिक परिचयलाई विद्यार्थी नेताको सीमाबाट बाहिर विस्तार गरे । समाजशास्त्रमा स्नातकोत्तर गरेका थापाले ‘संविधानसभामा नेपाली कांग्रेस’ नामक पुस्तकसमेत लेखेका छन् ।
कांग्रेसको आन्तरिक राजनीतिमा भने उनको यात्रा सधैँ सहज रहेन । नेतृत्व परिवर्तनको माग उठाउँदै आएका थापा र तत्कालीन पार्टी नेतृत्वबीचको मतभेदले अन्ततः विशेष महाधिवेशनसम्मको अवस्था सिर्जना गर्यो । गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिभित्र असहमति हुँदाहुँदै आयोजना गरिएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसपछि यही नेतृत्वले १५औँ महाधिवेशन आयोजना गरेको हो ।
विद्यार्थी संगठनको नेतृत्व, जनआन्दोलनको लोकप्रियता, संसदीय अनुभव र पार्टीभित्रको लामो संघर्षबाट अघि बढेका थापाका लागि सभापतिको जिम्मेवारी अब नयाँ परीक्षा बनेको छ । पार्टीभित्रको गुटगत विभाजन कम गर्नु, असन्तुष्ट पक्षलाई समेट्नु, संगठनलाई प्रभावकारी बनाउनु र कांग्रेसप्रति घटेको जनविश्वास पुनः स्थापित गर्नु उनका प्रमुख चुनौती हुनेछन् ।
नेतृत्व परिवर्तनको माग गर्दै राजनीतिमा स्थापित भएका थापा अब आफैँ नेतृत्वको केन्द्रमा पुगेका छन् । उनले उठाउँदै आएका सुधारका मुद्दालाई व्यवहारमा उतार्न सक्ने कि नसक्ने भन्ने कुराले उनको कार्यकालको मूल्यांकन गर्नेछ । भारी मतान्तरसहितको विजयले उनलाई बलियो राजनीतिक हैसियत दिएको छ । तर, त्यसलाई पार्टीको एकता र जनताको विश्वासमा बदल्नु नै उनको नेतृत्वको वास्तविक सफलता हुने विश्लेषकहरु बताउँछन् ।



















