इतिहासको विरासत होइन, जनताको भरोसा जित्ने कांग्रेस बनाउँछौं : गगन थापा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई पुरानो विरासतमा निर्भर नभई जनताको भरोसा जित्ने राजनीतिक शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले युवादेखि किसान, उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मका समस्या सम्बोधन गर्ने पार्टी बनाउने बताए । शनिबार १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले कांग्रेसको गौरवशाली इतिहास भए पनि त्यसैको आडमा राजनीति नगर्ने स्पष्ट पारे । अबको कांग्रेसले विगतको प्रशंसामा रमाउनुको सट्टा नयाँ इतिहास निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

थापाले पार्टीबाट टाढिएका असन्तुष्ट नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने पनि बताए । विगतमा पार्टीले गरेका कामप्रति असन्तुष्टि जनाउँदै टाढिएका लाखौं मानिसको विश्वास पुनः जित्ने उनको दाबी छ । त्यसका लागि पार्टीको काम गर्ने शैली परिवर्तन गरिने उनले उल्लेख गरे ।

किसानले आफ्ना समस्या उठाउने, उद्यमीले गुमाएको अवसर पुनः प्राप्तिका लागि आवाज उठाउने र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको पक्षमा बोल्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्ने थापाले बताए । पार्टी जनताको दैनिक जीवनसँग जोडिनुपर्नेमा उनले जोड दिए ।

सभापति थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनलाई पार्टीको प्रमुख प्रतिबद्धताका रूपमा अघि सारे । गैरकानुनी काममा संलग्न व्यक्तिले त्यसको जिम्मेवारी आफैं लिनुपर्ने भन्दै उनले कुनै व्यक्तिमाथि लागेको आरोप वा कानुनी कारबाहीको भार पार्टीले नबोक्ने स्पष्ट पारे ।

आफ्नै आर्थिक जीवनमा अनियमितता भेटिए त्यसको बचाउमा पार्टीका कुनै सदस्य नउत्रिने वातावरण बनाउने उनको भनाइ थियो । पार्टीमा आबद्ध भएकै आधारमा कसैलाई राम्रो र कसैलाई खराब ठान्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए ।

सानो र ठूलो व्यक्तिका लागि कानुन फरक हुन नसक्ने उल्लेख गर्दै थापाले कांग्रेसलाई व्यवहारमै कानुनको शासन पालना गर्ने पार्टी बनाउने संकल्प व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×