
काठमाडौं । धादिङको गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिएपछि पृथ्वी राजमार्गअन्तर्गत गलौँदीमा भासिएको सडक खुलाउन समस्या भएको छ । ग्यास बुलेटबाट ग्यास लिक भइरहेकाले सडक मर्मतका लागि आवश्यक उपकरण र टोली घटनास्थलसम्म पुर्याउन कठिनाइ भएको सडक विभागले जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै मछेडीमा पल्टिएको ग्यास बुलेटका कारण गलौँदीमा भासिएको सडक खुलाउने काम प्रभावित भएको जानकारी दिएको हो । भासिएको सडक खुलाउन ब्याक कटिङ गर्नुपर्ने भए पनि ग्यास लिक भइरहेकाले मर्मत कार्य अघि बढाउन समस्या भएको विभागले जनाएको छ ।
रात परिसकेकाले घटनास्थलको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार टोली परिचालन गरिने विभागले जनाएको छ।
दसैँको मुखमा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं–मुस्लिन सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई थप सास्ती हुने देखिएको छ।

























