
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (सास्थम) विराटनगरले बीएचएम, बीबीए र एमबीए तहका १२५ जना विद्यार्थीलाई बिदाइ गरेको छ।
एक कार्यक्रमकाबीच बीएचएमका ५०, बीबीएका ६० र एमबीएका १५ जना विद्यार्थीलाई बिदाइ गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिए । अध्ययन पूरा गरेका विद्यार्थीको शैक्षिक यात्रालाई सम्मान गर्दै आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामनासहित कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा कलेजका प्राध्यापक, प्रशासक तथा कर्मचारीहरूको उपस्थिति थियो । विद्यार्थीहरूले कलेजमा बिताएका अनुभव र स्मरणीय क्षण साझा गरेका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । विद्यार्थीले अध्ययनका क्रममा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइएको थियो ।
सन् २००१ मा स्थापना भएको सास्थम पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो । कलेजले पर्यटन, होटेल तथा व्यवसाय व्यवस्थापनसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ।

























