
विराटनगर । पर्यटक भिसामा नेपाल प्रवेश गरेर भिसाको उद्देश्यविपरीत क्रिश्चियन धार्मिक प्रशिक्षणमा सहभागी भएको आरोपमा मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिक शुक्रबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १३ जना पुरुष र ११ जना महिला छन् । उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार विराटनगर विमानस्थल हुँदै यति एयरलाइन्सको जहाजमार्फत साँझ काठमाडौं पठाइएको हो । ‘एउटा कामका लागि भनेर आएका कोरियन नागरिकले धार्मिक प्रचार गरेको पाइयो । त्यही भएर नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गर्दै अध्यागमन विभाग पठाइएको छ,’ एसपी कटवालले भने ।
सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गमा रहेको क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’मा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए । कटवालका अनुसार स्थानीयको उजुरीपछि उनीहरूमाथि निगरानी बढाइएको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पर्यटक भिसामा आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि विगत दुई दिनदेखि निगरानी गरिएको थियो । अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको कोइरालाले बताए ।
पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए । उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका थियो । लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ । उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने बताइएको छ ।
सहायक प्रजिअ कोइरालाका अनुसार अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२०) बमोजिम पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले उनीहरूलाई विभागको जिम्मा लगाइएको हो । उनीहरूमाथि निष्कासन (डिपोर्ट) लगायतका थप कारबाही गर्ने वा नगर्ने निर्णय अध्यागमन विभागले गर्नेछ ।
मोरङमा विदेशी नागरिकको आवागमन बढ्दै जाँदा पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधि हुन सक्ने भन्दै प्रशासनले निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अध्यागमन जिल्ला समन्वय समितिले यससम्बन्धी गतिविधिको निगरानी गरिरहेको हो ।
यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए । उनीहरुलाई पनि अध्यागमन विभाग बुझाइएको थियो ।
यी हुन् पक्राउ पर्ने कोरियनहरु



























