
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पराजित गर्दै पार्टीको नेतृत्व सम्हाल्ने अवसर थापाले पाएका हुन् ।
काठमाडौंको राष्ट्रियसभा गृहमा शुक्रबार भएको मतदानपछि राति अबेर मतगणना सुरु भएको थियो । शनिबार बिहानका राति मतगणना सम्पन्न हुँदा भारी मतसहित कांग्रेसको नेतृत्वमा थापाको उदय भएको हो ।
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी खड्गीले भने ३७५ मत मात्रै पाए । गणनाका क्रममा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन ७ हजार ३१७ प्रतिनिधि योग्य रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । प्राप्त मतपरिणामले सभापति पदमा थापाको पक्षमा बलियो समर्थन देखाएको छ ।
सभापति पदको मतगणना सकिए पनि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया भने पूरा भएको छैन । उपसभापति, महामन्त्रीलगायत अन्य पदाधिकारीको मतगणना बाँकी छ । ती पदका मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेपछि शनिबार दिउँसोबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । त्यसका लागि उपसभापति र महामन्त्रीका उम्मेदवारलाई दिउँसो १ बजे सानेपामा बोलाइएको जानकारी उनले दिएका छन् ।
सभापतिमा थापाको जितसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको महत्त्वपूर्ण चरण पूरा भएको छ । अब बाँकी पदाधिकारीको मतपरिणामले पार्टीको नेतृत्व संरचना कस्तो बन्छ भन्ने टुंगो लगाउनेछ ।

























