
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने घोषणा गरेपछि युक्रेन र उसका युरोपेली सहयोगीहरूमा चिन्ता बढेको छ । इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको भनिएको यो निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध सञ्चालनका लागि थप आर्थिक स्रोत उपलब्ध गराउन सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आरोप छ ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने बताएका थिए । उनका अनुसार नोभेम्बरमा थप पाँच लाख टन र त्यसपछि १० लाख टन डिजेल आपूर्ति हुनेछ । रुसी तेल प्रशोधन केन्द्रहरूको अवस्थाअनुसार थप ३० लाख टन डिजेलसमेत छोटो समयमै उपलब्ध गराउन सकिने उनको दाबी छ ।
सम्झौताअनुसार अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध आगामी अप्रिल ७ सम्म अस्थायी रूपमा निलम्बन गरेको बताइएको छ । यद्यपि, अमेरिकी बैंकमा रहेका रुसी सम्पत्तिसहित अन्य प्रतिबन्ध भने कायमै रहनेछन् ।
रुसी राष्ट्रपति पुटिनले पनि ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाका बारेमा छलफल भएको पुष्टि गरेका छन् । उनले अमेरिका र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तयार रहेको बताए ।
जेलेन्स्कीले भने रुसी इन्धन खरिदलाई पुटिनका लागि उपहारको संज्ञा दिएका छन् । यसबाट प्राप्त आम्दानी युक्रेनमाथिको आक्रमण जारी राख्न प्रयोग हुन सक्ने भन्दै उनले अमेरिकालाई रुसप्रति कठोर नीति अपनाउन आग्रह गरेका छन् । रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण नगरे आफूहरूले रुसी तेल प्रशोधन केन्द्रलाई निशाना नबनाउने उनको भनाइ छ ।
युक्रेनी ड्रोन आक्रमणका कारण रुसको डिजेल उत्पादन झन्डै ३० प्रतिशत घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको अनुमान छ । आन्तरिक अभावका कारण रुसले यस वर्षको सुरुवातमा निर्यात प्रतिबन्धसमेत लगाएको थियो । त्यसैले घोषित परिमाणमा आपूर्ति सम्भव हुने विषयमा प्रश्न उठेको छ ।
यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलरभन्दा माथि पुगेको छ । जबकि इरान युद्धअघि करिब ७३ डलर थियो । रुससँगको सम्झौताले इन्धन सस्तो बनाउने वा पुटिनको युद्धलाई आर्थिक बल दिने भन्ने विषयमा युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गरेका छन् । बेलायतले भने युक्रेनलाई सहयोग र रुसमाथिको प्रतिबन्ध निरन्तर रहने जनाएको छ ।

























