
मानिसलाई मात्र होइन, यो समाजलाई नै बेलाबखत अपरेसन गर्न जरुरी हुन्छ । आफैँले गल्ती गर्छु भनेर स्वीकार्नुपर्छ । पक्कै पनि बिग्रिएका धेरै सुध्रिन्छन् । तर फेरि बिग्रिएकाभन्दा झन् बढी नवआगन्तुकहरूको प्रवेश चलिरहन्छ ।
यस अर्थमा नभोगी स्वर्गको औचित्य दर्शिँदैन । तर पनि स्वर्ग नरुचाउनेहरूका लागि भने उपचारको उपाय आजसम्म न भगवान् न त वैज्ञानिक, कसैले पनि पत्तै लगाएका छैनन् भन्ने सुनेको छु मैले त ।
म नेपाली नागरिकतामा असार ३ गते ४९ वर्षको भएँ । नेपाली पासपोर्ट विभागका अनुसार केही दिनमा ४९ वर्षको हुँदैछु । खैर, एक महिना भए पनि मलाई जवान बनाइदिएकामा पासपोर्ट विभागका जोडघटाउ गर्ने अफिसरलाई मुरीमुरी धन्यवाद । गुनासो छैन । तर घरिघरी जन्म दिने बाबा–आमाले ‘विस’ गर्ने जन्मदिन र छोराछोरीले ‘विस’ गर्ने जन्मदिन ठीक एक महिना फरक हुँदा आजकल यो फेसबुकको जमानामा कता–कता कस्तो-कस्तो हुन्छ ।
तर पनि मानिसलाई पटक-पटक विभिन्न घटनाक्रमले जन्माएको हुँदोरहेछ भन्ने कुरामा भने विश्वास राख्छु । यदि भोलि मैले किताब लेखेँ भने कति प्रतिशत सही लेख्नुपर्छ ? कति सत्य लेख्न सक्छु ? जीवनको उत्तरार्धमा मेरो जिम्मेवारी बहनको अवस्था के होला ?
अनुभवसँगै साँच्चै एउटा सवाल उठेको छ आजकल। ४९ वर्षको उमेरमध्ये पछिल्ला पाँच वर्षमा जति किताब पढेँ, त्यसको अनुपातमा अघिल्ला ४४ वर्षमा त केही पुस्तक मात्र पढेँ। तर फरक-फरक जीवन लगातार बुझ्ने भएदेखि आजसम्म ४० वर्ष धेरै भोगेँ। यी पाँच वर्षको किताब पढाइमा विषयवस्तु फरक-फरक थिए अवश्य। कुरा गर्छु मात्र दुई च्याप्टरका ।
प्रथम, आत्मवृत्तान्त । आफ्नो भोगाइ, ढोगाइ, रोगाइ आफैँले वाचन गर्ने । अर्को, समाजमा योगदान र नजिकबाट व्यक्तित्व बुझेर अरूले लेखिदिने जीवनी । यसैमा हो मलाई जिज्ञासा उठेको- सबैले कति प्रतिशत सही र कति प्रतिशत फूलबुट्टा भरेर लेखलाई आकर्षक बनाउँछन् होला ?
अवश्य, अरूको जीवनीमा लगभग ‘नो फेक’ नै पाइएला । तर आत्मवृत्तान्तमा सत्य बढी होला? किताब पढेको आधारमा मेरो अनुमान हो- आत्मवृत्तान्तको कथाको आधार सत्य भए पनि लेखिएका कुरामा प्रतिशतका हिसाबले पचास प्रतिशतभन्दा बढी झूटा शब्द चयन हुन्छन् होला ? मेरो अनुमान सही हो कि गलत ? आत्मवृत्तान्तमा कति प्रतिशत सत्य लेखिएको हुन्छ ?
साँच्चै मनपर्ने जवाफ पाएँ भने संसारको जुनसुकै ठाउँमा भेट्ने अवसर पाए एक कप कफी अथवा चिया उपहारका रूपमा यहाँहरूलाई ल !
म पनि छक्क परेँ, जब छोराछोरी २० वर्षको उमेर भएपछि उनीहरूसँग पुराना कुरा सेयर गरेँ । यी कुराहरू किन पहिला सेयर नगरेको भनेर उनीहरूले सोधे । म त एकछिन अकमकिएँ । बच्चाबच्चीका अगाडि अकमकिनु हुँदैन । सवाल आए जवाफ सही दिनुपर्छ भन्ने मसँग चेतना थियो र तुरुन्तै जवाफ दिएँ ।
कुरो के भने, बच्चाबच्चीलाई जीवनका सबै कुरा पूरै भनिँदैन । आवश्यक, जायज जानकारी र शिक्षा बिस्तारै दिँदै गइन्छ । तर जब बच्चाबच्चीले आफैँ प्रश्न गर्न थाल्छन् नि, त्यो बेला भने अभिभावकले शतप्रतिशत सही जवाफ दिने प्रयास गर्नु जरुरी छ । यसैको आधारमा मानव सभ्यता विकास हुँदै यहाँसम्म आएको हो भनेर सम्झाएँ ।
अवश्य, हामी मानवको आपसी बुझाइमा कमजोरी हुँदा समाजमा विभिन्न अमानवीय, क्रूर घटनाहरू घटेकै हुन्छन्। तर पनि मानवको एक मात्र उद्देश्यसँगै धर्म पनि हो- एक दिन सबै मानिसले एकअर्कालाई प्रेम गरून्, विश्वास गरून्, स्वच्छ प्रतिस्पर्धा गरून्, कमजोरी स्वीकारून् र परिणामको सम्मान गरून् ।
हो, यो समाज एक दिन स्थापित हुन्छ भन्नेमा विश्वास गर्छु । जो धेरै दौडन्छ, उसैको बढी उपलब्धि हुन्छ । यो अधिकार अकस्मात् स्वयं भगवान् विष्णु नै विराट भए पनि खोस्न सम्भव छैन ।

























