एउटा गलत अध्यायले जीवनको किताब बिगार्दैन

Share this
710shares
मुलुकी खबर
विवेक केशरी प्रसाईं
clock२०८३ आश्विन २४, शनिबार १४:३०

जीवनमा केही गल्तीहरू यस्ता हुन्छन्, जसलाई सम्झँदा वर्षौंपछि पनि मन भारी हुन्छ । कहिलेकाहीँ गलत मानिसलाई विश्वास गरिन्छ, गलत सम्बन्ध जोगाउन आफूलाई नै तोडिन्छ र गलत निर्णयमा जीवनका सुन्दर वर्षहरू खर्चिन्छन् । अनि एक दिन पछाडि फर्केर हेर्दा मनले सोध्छ- ‘काश, त्यो दिन मैले अर्कै निर्णय गरेको भए…!’

तर जीवनको सबैभन्दा कठोर सत्य यही हो- समय फर्किँदैन । हिजोलाई सच्याउन सकिँदैन, तर हिजोका कारण आजलाई बिगारिरहनु पनि आवश्यक छैन ।

हामीमध्ये धेरै मानिस वर्तमानमा कम र विगतमा बढी बाँचेका हुन्छौँ । शरीर आजमा हुन्छ, तर मन हिजोको कुनै घटना, कुनै व्यक्ति, कुनै चोट वा कुनै अधुरो सपनामै अड्किएको हुन्छ । अरूलाई माफ गर्न कहिलेकाहीँ सजिलो हुन्छ, तर आफूले गरेको गल्तीका लागि आफैँलाई माफ गर्न सबैभन्दा गाह्रो हुँदो रहेछ । त्यहीँबाट मानिस भित्रभित्रै थाक्न थाल्छ ।

अरूको सफलता हेर्दा आफ्नो यात्रा ढिलो भएको सम्झना आउँछ । कसैले उचाइ छोएको देख्दा आफू पछाडि परेको महसुस हुन्छ। केही सपना पूरा नभएपछि लाग्छ- सायद मेरो समय सकियो। तर होइन ।

जीवन कुनै दौड होइन, जहाँ ढिलो पुग्ने मानिस हार्छ ।

कसैलाई गन्तव्य छिट्टै भेटिन्छ, कसैले धेरै घुम्ती पार गर्नुपर्छ । कसैको बाटो फूलले सजिएको हुन्छ, कसैको खुट्टामा काँडा बिझ्दै अघि बढ्नुपर्छ । तर कठिन बाटो हिँडेको मानिस असफल हुँदैन- उसले जीवनलाई अलि गहिरोसँग बुझेको हुन्छ ।

त्यसैले आफूले गुमाएका कुराहरूको चिहान कुरेर बाँकी जीवन नबिताउनुहोस्। गएको मान्छेलाई जान दिनुहोस् । टुटेको सपना फेरि बुन्नुहोस् । आँसु पुछ्नुहोस् र आवश्यक परे शून्यबाट फेरि सुरु गर्नुहोस् ।

किनकि शून्यबाट सुरु गर्नु लाजको कुरा होइन । आफू समाप्त भइसकेँ भनेर बाँच्न छोड्नुचाहिँ दुःखद हो ।

अस्ताएको सूर्यलाई हेरेर कसैले आकाश समाप्त भयो भन्दैन । सबैलाई थाहा छ- त्यही अँध्यारो पार गरेर फेरि बिहान आउँछ ।

मानिसको जीवन पनि त्यस्तै हो ।

आज तपाईं थाक्नुभएको होला, केही गुमाउनुभएको होला, कुनै निर्णयप्रति पछुतो होला । तर याद राख्नुहोस्- हिजो तपाईंको गल्ती थियो भने, आज तपाईंको पाठ हो र भोलि अझै लेखिन बाँकी पाना हो ।

त्यसैले हिजोको एउटा गलत अध्यायका कारण आफ्नो पूरै जीवनको किताब नराम्रो नठान्नुहोस् । कथा अझै सकिएको छैन ।

सायद तपाईंको जीवनको सबैभन्दा सुन्दर अध्याय त्यही पानापछि सुरु हुँदैछ, जहाँ तपाईंले आँसु पुछेर लेख्नुहुन्छ- ‘अब म फेरि सुरु गर्छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×