बूढीगण्डकीमा बाढीको प्रारम्भिक कारण पहिरो, वास्तविकता खोज्दै विज्ञ टोली

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १२:५५

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीको प्रारम्भिक कारण नदीको माथिल्लो क्षेत्रमा गएको सुक्खा पहिरो हुन सक्ने नेपाली सेनाले जनाएको छ ।

पहिरोका कारण नदीको बहाव रोकिएको र थुनिएको पानी तथा गेग्रान एक्कासि खुलेपछि लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन गरिएको हो । यद्यपि, बाढीको वास्तविक कारण भने अझै पुष्टि भइसकेको छैन ।

नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीअनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको थियो । केही समयपछि थुनिएको भाग खुलेसँगै नदीमा लेदो माटो र गेग्रानसहितको बाढी आएको अनुमान गरिएको छ ।

सेनाको नम्बर ३ बाहिनी अड्डामा आइतबार बिहान ५ बजेर ५५ मिनेटमा बूढीगण्डकी नदी थुनिएको प्रारम्भिक सूचना पुगेको थियो । त्यसपछि गोरखामा तैनाथ रुद्रध्वज गणअन्तर्गत सुरक्षा पोस्ट बाङ्गसिङबाट बिहान सवा ६ बजे घटनास्थलको अवस्था बुझ्न रेकी टोली खटाइएको थियो । टोलीले चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको थियो ।

सेनाको प्रारम्भिक प्रतिवेदनका आधारमा पहिरोले नदीको बहाव रोकेको र पछि अवरोध खुलेपछि बाढी आएको अनुमान गरिएको हो । तर पहिरोले मात्रै यति ठूलो बाढी निम्त्याएको हो वा अन्य कारण पनि छन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बूढीगण्डकीमा आएको बाढीको प्रकृति गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीसँग मिल्दोजुल्दो देखिएको बताएका छन् । दुवै घटनामा लेदो माटो र गेग्रानसहितको बाढी देखिए पनि बूढीगण्डकी बाढीको उद्गमस्थल र वास्तविक कारण अझै स्पष्ट भइनसकेको उनले बताए ।

बाढीको कारण पत्ता लगाउन प्राधिकरणको टोली ड्रोनसहित नदीको माथिल्लो क्षेत्रमा परिचालित भएको जानकारी उप्रेतीले दिएका छन् । घटनास्थलको हवाई दृश्यमा साँघुरो र गहिरो खोँचमा गेग्रान बगेको तथा खोँचको छेउमा पहिरो गएको जस्तो देखिएको छ । यद्यपि, दृश्यका आधारमा मात्रै बाढीको कारण यकिन गर्न नसकिने अधिकारीहरूको भनाइ छ ।

गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीको कारण तिब्बत क्षेत्रमा हिमनदीको ठूलो भाग खस्नु रहेको थियो । उक्त घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बूढीगण्डकीमा भने हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । केही मानिसहरु सम्पर्कविहीन छन् ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने अर्को झोलुंगे पुल बगाएको छ । गोरखाबाट आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगेको छ । यसले स्थानीय आवागमन र यातायातमा समस्या सिर्जना गरेको छ ।

धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका ८ देखि १० वटा घरसमेत बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ । अन्य विवरणअनुसार एउटा कच्ची घर बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा परेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यसमेत जारी छ । नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–३ को जगतबाट छ जनालाई सकुशल उद्धार गरिएको छ ।

बूढीगण्डकीमा बाढी आउनुको वास्तविक कारण पहिचान गर्न नदीको माथिल्लो क्षेत्रको भौगोलिक अवस्था, पहिरोको प्रकृति र बहाव थुनिएको भनिएको स्थानको स्थलगत अध्ययन आवश्यक देखिएको छ । अहिले सार्वजनिक भएको विवरण प्रारम्भिक भएकाले थप अध्ययनपछि मात्रै बाढीको कारण र क्षतिको पूर्ण विवरण स्पष्ट हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
चाडपर्वमा विशेष सुरक्षा प्रदान गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
बाढी प्रभावित क्षेत्रबाट सेनाद्वारा ३६ जनाको उद्धार
नारायणी र त्रिशूली नदी तटीय क्षेत्रमा सतर्कता
उच्च जोखिममा बेनीघाट र मुग्लिन
दसैँघरमा राखियो जमरा
शोकबीचको दसैँ, संयमित उत्सवको सन्देश
बूढीगण्डकीमा बाढीको प्रारम्भिक कारण पहिरो, वास्तविकता खोज्दै विज्ञ टोली
बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ जना कर्मचारी भागेर सुरक्षित स्थानमा
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न कांग्रेस सभापति थापाको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×