
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले २६ वटा घर र नौवटा गोठ पूर्ण रूपमा बगाउनुका साथै चारवटा पुलमा क्षति पुर्याएको छ । बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीले आइतबार साँझ विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ । बाढीले दुईवटा पक्की र दुईवटा झोलुंगे पुल बगाएको छ ।
पुल बगाएपछि प्रभावित क्षेत्रमा यातायात तथा आवतजावतमा समस्या भएको छ । बाढीले तीनवटा जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका पाँच जनाको खोजी कार्य जारी छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




















