
लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनले बताए ।
पर्यटकीय ‘सिजन’ सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको थियो तर असोज ८ देखि ११ गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आवागमन प्रभावित हुँदा दैनिक एक–दुई जनामात्र आउने गरेकोमा अहिले बढ्न थाले सगै सो हाराहारीमा आउन थालेको गुरुङले बताए ।
उहाँका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।
गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० सम्म पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताए । सडक तथा पदमार्ग सहज हुँदै गएमा पर्यटकको सङ्ख्या अझै बढ्ने उहाँको अपेक्षा छ । अन्नपूर्ण चक्रीय पदमार्ग हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृति र रहनसहनका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।



















