बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा रेडक्रसको प्रतिकार्य तीव्र

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ०९:२०

काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले उद्धार तथा राहतका कामलाई तीव्रता दिएको छ । प्रभावितलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन स्वयंसेवक परिचालन गर्नुका साथै गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको रेडक्रसले जनाएको छ ।

आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आएर स्यारखोला थुनिएको थियो । केही समयपछि खोला फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन् । बाढीले दुईवटा पक्की पुल, दुईवटा झोलुङ्गे पुल र तीनवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । त्यस्तै, चारवटा हवनकुण्ड, ४५ घर पूर्ण र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले ३४ वटा गोठ र तीनवटा सवारीसाधनमा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

नेपाली सेनाका चारवटा हेलिकप्टरमार्फत नौ जना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीबाट भएको क्षतिको आकलनसँगै तत्काल प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गरिएको बताए । उनका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर, पूर्वी र पश्चिमी क्षेत्रका स्वयंसेवक परिचालन गरिएको थियो। उनीहरूले पूर्वसूचना प्रवाह गर्नुका साथै प्रतिकार्यका काम अघि बढाएका छन् ।

‘बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन गर्‍यौँ। उहाँहरूले पूर्वसूचना प्रवाह गर्नुभयो। प्रतिकार्य जारी छ,’ खनालले भने ।

रेडक्रसले प्रभावित क्षेत्रमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको सहकार्य तथा समन्वयमा आइतबार नै ती सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको खनालले जानकारी दिए ।

त्यस्तै, प्रभावित क्षेत्रमा अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत पठाइएको उनले बताए । तत्काल आवश्यक सामग्री प्रभावितसम्म पुर्‍याउने काम जारी रहेको रेडक्रसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×