
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रहरी निरीक्षकहरूलाई जिम्मेवारी निर्वाह गर्दा कुनै पनि दबाब र अनुचित प्रभावमा नपर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक प्रहरीसम्बन्धी कार्यक्रममा सहभागी भएका हुन् ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज (सोमबार) आयोजित प्रहरी निरीक्षकको १-१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भेदभावरहित र कुशल प्रहरी सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्न आग्रह गरे ।
‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु,’ उनले भने ।
आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक तथा परिवारप्रति आभार व्यक्त गर्दै शाहले पेसागत सफलताको पहिलो मानक इमानदारी र नैतिकता भएको बताए । उनले जिम्मेवारी निर्वाह गर्दा जवाफदेहिता महत्त्वपूर्ण हुनेमा पनि जोड दिए ।
आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गर्दै उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन ।’
संगठनको प्रोटोकल विपरीतका गतिविधिमा संलग्न नहुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले समयसँगै अपराधको प्रवृत्ति पनि बदलिएको बताए । अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तत्पर रहेको बताए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षकको १–१८४औँ समूहबाट ७९ जना दीक्षित भएका छन् । दीक्षित हुनेमा आठ जना महिला र ७१ जना पुरुष छन् । उक्त समूहले ३४० दिनसम्म कठिन तालिम पूरा गरेको हो ।
समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेललगायत अधिकारी उपस्थित थिए ।



















