
पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डअन्तर्गत पाँचथरमा पर्ने सडक कालोपत्र गर्ने काम अनिश्चित बनेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा ठेक्का लागेको झन्डै ६ वर्ष बित्न लाग्दासमेत सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । तीनवटा प्याकेजमा विभाजन गरेर काम थालिएकामा एउटा प्याकेजको ठेक्का रद्द भइसकेको छ ।
नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको करिब ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । उक्त सडक तीनवटा खण्डमा कालोपत्र गर्ने गरी २०७७ माघ १९ गते ठेक्का सम्झौता भएको थियो । तर कुनै पनि खण्डमा भौतिक प्रगति ५५ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार सडकलाई तीनवटा प्याकेजमा विभाजन गरिएको छ । पहिलो प्याकेज १६ किलोमिटर तथा दोस्रो र तेस्रो प्याकेज करिब १७–१७ किलोमिटर लम्बाइका छन् ।
राजमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङबाट सुरु हुने पहिलो प्याकेजको ठेक्का ५३ करोड १७ लाख रुपैयाँमा रोशन–शिवशक्ति जेभीले लिएको हो । यस खण्डमा हालसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । चारपटक म्याद थप गरिएको यस प्याकेजको पछिल्लो म्यादअनुसार आगामी जेठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
तर उच्च पहाडी क्षेत्र भएकाले वर्षायाममा अत्यधिक वर्षा हुने र हिउँदमा चिसोका कारण काम गर्न कठिन हुने गरेको छ । यसले निर्धारित समयभित्र निर्माण सम्पन्न हुने सम्भावना कम बनाएको छ । यद्यपि पछिल्लो समय मुख्य निर्माण कम्पनीले नै सडक मर्मतसम्भारको काम गरिरहेको प्राविधिक देवले बताए ।
करिब १७ किलोमिटर लामो दोस्रो प्याकेजको ठेक्का भने गत असार ११ गते रद्द गरिएको छ । सन्तोषी–शिवशक्ति जेभीले ४६ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डमा भौतिक प्रगति १६ प्रतिशतमा सीमित भएपछि योजना कार्यालयले ठेक्का तोडेको हो । नयाँ ठेक्का लाग्ने टुंगो नलाग्दा यो खण्डको निर्माण अन्योलमा परेको छ ।
तीनपटक म्याद थप गरिएको यस प्याकेजको ठेक्का अवधि गत वर्षको पुस मसान्तमा समाप्त भएको थियो । तर निर्माण कम्पनीले ठेक्का तोड्ने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत विराटनगरको इलाम इजलासमा रिट दायर गरेको थियो ।
प्राविधिक देवका अनुसार इलाम इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै ठेक्का सम्झौतासम्बन्धी सक्कली कागजात पेस गर्न आदेश दिएको छ । अदालती प्रक्रियाका कारण पुनः ठेक्का लगाउन समय लाग्ने भएकाले यस खण्डको भविष्य अनिश्चित बनेको छ ।
याङवरक–४ दारिम्बाबाट सुरु हुने तेस्रो प्याकेजमा पनि पाँचपटक म्याद थप भइसकेको छ । करिब १७ किलोमिटर लामो यो खण्डमा तुलनात्मक रूपमा काम गर्न सहज भए पनि हालसम्म ५५ प्रतिशत भौतिक प्रगति मात्रै भएको छ । रोशन–शिवशक्ति जेभीले ४६ करोड ३६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डको सम्झौता अवधि गत वैशाखमै सकिएको थियो ।
तर सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका ठेक्का नतोड्ने व्यवस्था गरेकाले निर्माण कम्पनीलाई ताकेता गरेर काम अघि बढाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ । यस प्याकेजको ठेक्का अवधि थप गर्ने विषयमा पनि अध्ययन भइरहेको छ ।
उद्गम खण्डमा कालोपत्र गर्ने काम अनिश्चित भएपछि स्थानीय बासिन्दाले पटक–पटक स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारी अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सडक कालोपत्रको कामले गति लिन नसक्नु र बर्सेनि बाढीपहिरोले निर्माण भएका संरचनामा क्षति पुर्याउनु पनि समस्या बनेको छ । याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभानेमा बाढीका कारण नियमित रूपमा सडक अवरुद्ध हुने गरेको छ । यसले कालोपत्रको काममा समेत बाधा पुर्याइरहेको छ । निर्माण कम्पनीले सुरुदेखि नै पर्याप्त स्रोतसाधन र जनशक्ति परिचालन गर्न नसक्दा सडकको भविष्यप्रति स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले निर्माण कम्पनीको लापरवाहीका कारण समयमा सडक कालोपत्र हुन नसक्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको बताए । मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक देवका अनुसार सुरुदेखि नै निर्माणमा पर्याप्त जनशक्ति, यन्त्र–उपकरण र स्रोतसाधन परिचालन हुन नसक्दा कामले गति लिन सकेको थिएन । पछिल्ला वर्षमा अत्यधिक वर्षा, बाढीपहिरोलगायत कारणले थप अवरोध सिर्जना हुँदा सडक कालोपत्रको काम अघि बढ्न नसकेको उनले बताए ।



















