दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्दै

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १०:४३

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किन थालेका छन् ।

नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।

उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका हुन् ।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा कठिनाइ भएको बताए ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौंदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा काठमाडौंमा धेरै सवारी रोकिएका कारण समस्या भएको गौतमले बताए । महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×