व्यवस्थित बनाइँदै भोजपुरका सामुदायिक विद्यालय

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ०९:३४

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षण र विद्यार्थीका लागि सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो ।

वडाभित्रका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माण सम्पन्न भएको वडाले जनाएको छ । घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधारसमेत गरिएको छ ।

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला विद्यालय परिसरमा पशुचौपाया प्रवेश गर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने र भौतिक सामग्रीको संरक्षणमा समस्या हुने गुनासो आएपछि घेराबारा निर्माणलाई प्राथमिकता दिइएको हो ।

‘विद्यालय सुरक्षित र व्यवस्थित भए मात्र विद्यार्थीका लागि प्रभावकारी सिकाइ वातावरण बन्न सक्छ,’ वडाध्यक्ष विष्टले भने, ‘त्यसैले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण गरेका हौँ ।’

घेराबारा निर्माणपछि विद्यालय परिसर थप व्यवस्थित र सुरक्षित बनेको स्थानीय अभिभावक तथा शिक्षकले बताएका छन् । विद्यालय क्षेत्रमा अनावश्यक आवतजावत नियन्त्रण गर्न र पशुचौपायाबाट हुने क्षति रोक्न पनि सहयोग पुगेको स्थानीयवासी गङ्गाबहादुर खड्काले बताए । विद्यालय परिसर व्यवस्थित भएपछि विद्यार्थीको नियमित उपस्थितिमा समेत सहजता भएको उनले जानकारी दिए ।

हतुवागढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक तथा भौतिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

विद्यालयको भौतिक अवस्था सुधारसँगै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको अध्यक्ष राईले जानकारी दिए । स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×