
काठमाडौं । बडादसैँको दोस्रो दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड बढेको छ । नवरात्रका अवसरमा देवीको पूजा आराधना र दर्शन गर्न आउने भक्तजनको विभिन्न मन्दिरमा लाम लागेको छ ।
काठमाडौंका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी र टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको चाप बढेको छ ।
शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन र देवी स्तोत्र वाचनले मन्दिर परिसर भक्तिमय बनेका छन् । मैतीदेवी मन्दिर प्रवेश गर्ने सडकमा आकर्षक द्वार निर्माण गरिएको छ भने नक्साल भगवती मन्दिर परिसरलाई पनि सजाइएको छ ।
नवरात्रका नौ दिनमा फरक–फरक देवी मन्दिरमा दर्शन गर्ने धार्मिक मान्यताअनुसार केही भक्तजनले प्रत्येक दिन नयाँ शक्तिपीठ पुग्ने योजना बनाएका छन् । काठमाडौं उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढेको छ ।
पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा र बडिमालिकालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन र पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । नौ दिनसम्म विधिपूर्वक साधना र पूजाआराधना गरे मनले चिताएको पूरा हुने तथा शक्ति प्राप्त हुने विश्वास पनि छ ।
नवरात्रभर विधिपूर्वक पूजा गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गर्ने चलन छ । घटस्थापनाका दिन राखिएको घडाको जलले अभिषेक गरी दुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाइन्छ । केही समुदायमा भने सेतो अक्षताको टीका लगाउने परम्परा छ ।



















