
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा सुरक्षाकर्मी खटिएको विषयमा पार्टी र सशस्त्र प्रहरी बलबीच फरक–फरक दाबी सार्वजनिक भएको छ ।
एमालेले कार्यालयमा नियमित सुरक्षार्थ खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता भएको जनाएको छ भने सशस्त्र प्रहरीले पार्टी कार्यालयमा सुरक्षा टोली नै नराखिएको दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबार बिहानदेखि पार्टी कार्यालयमा खटिँदै आएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो । उनका अनुसार कार्यालयमा नियमित ड्युटीका लागि करिब पाँच जना सशस्त्र प्रहरी खटिने गरेका थिए ।
तर, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले भने पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाउने कुनै कार्यविधि नरहेको बताएका छन् । उनका अनुसार कार्यालयमा पहरा दिने गरी प्रहरी परिचालन नगरिएको र गस्तीका क्रममा सुरक्षाकर्मी त्यहाँ पुगेको हुन सक्ने बताए ।
‘हरेक जिल्लामा संवेदनशील भएका ठाउँमा नियमित ड्युटीमा जाने कुरा बेग्लै भयो । कहिलेकाहीँ पेट्रोलिङ गर्दै जाँदा बाथरुममा छिरेको कसैले देखेको होला । पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाउने कुनै कार्यविधिमा छैन । हामीले खटाएको पनि छैन,’ कार्कीले बताएका छन् ।
गृह मन्त्रालयले चार दिनअघि कार्यविधिविपरीत विभिन्न स्थानमा खटाइएका वा राखिएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको थियो । मन्त्रालयले निर्देशन र प्रचलित कार्यविधिविपरीत सुरक्षाकर्मी परिचालन गरेको पाइएमा त्यसमा संलग्न अधिकृत तथा पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।
यही निर्देशनपछि एमाले केन्द्रीय कार्यालयमा सुरक्षाकर्मी फिर्ता भएको विवरण सार्वजनिक भएको हो । यद्यपि, सशस्त्र प्रहरीले भने त्यहाँ नियमित सुरक्षा टोली खटाइएको भन्ने दाबी अस्वीकार गरेको छ ।



















