कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १८:३०

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन् । चितवन उद्योग संघको ३५औं वार्षिक साधारणसभालाई आज (सोमबार) सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समयसापेक्ष संशोधन गरिने बताइन् ।

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नु परेको बताउँदै मन्त्री गौतमले भनिन्, ‘प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन्। अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौं ।’ देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रष्ट पारिन् ।

त्यसका लागि आवश्यक पर्ने पूर्व तयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् ।

बिना तयारी कानुन संशोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उनले थपिन्, ‘थोरै ढिला भएर केही हुँदैन। दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्व तयारी गरेर छलफल र संवाद गरिरहेका छौं ।’ ‘फाष्ट ट्रयाक’ बाट कानुन निर्माण गर्न पनि ६ देखि आठ महिना लाग्ने भन्दै उनले अब कानुन निर्माणको चरणमा पुगेको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×