विभिन्न राजमार्ग अवरुद्ध, कतै एकतर्फी यातायात

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २७, मंगलबार ०७:३९

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा छन् भने केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बागमती प्रदेशको धादिङस्थित त्रिभुवन राजपथअन्तर्गत धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा असोज २१ गते पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ । गण्डकी प्रदेशको म्याग्दीमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ ।

त्यस्तै, नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती क्षेत्रमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । उक्त सडकखण्डमा साना सवारीसाधन मात्रै चल्न सक्ने र ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसार जाने सडकमा पनि यातायात एकतर्फी सञ्चालन भइरहेको छ । गोरखामा भने बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ को नयाँपुल क्षेत्रमा आइतबार आएको बाढीले सोतीस्थित फलामे पुलमा क्षति पुर्‍याएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक अवरुद्ध भएको हो । प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिनु उपयुक्त हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.