
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेवा करारमा कानुन सेवातर्फ सहायक निर्देशक पदमा कर्मचारी माग गरेको छ । बोर्डले स्थायी पदपूर्ति नभएसम्मका लागि अधिकृत तृतीय श्रेणीको एक पदमा दरखास्त आह्वान गरेको हो ।
बोर्डले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।
उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य कानुनलाई मूल विषयका रूपमा लिई कानुनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । आवेदन दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा उमेरको अधिकतम सीमा ४० वर्ष तोकिएको छ ।
इच्छुक उम्मेदवारले बोर्डले निर्धारण गरेको दरखास्त फाराम भरी आवश्यक कागजातसहित बोर्डको कार्यालयमा बुझाउन वा स्क्यान गरी [email protected] मा इमेल गर्न सक्नेछन् ।
आवेदनसँगै शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। सरकारी, गैरसरकारी वा अन्य संस्थामा कार्यरत उम्मेदवारले सम्बन्धित संस्थाको स्वीकृतिपत्र पनि बुझाउनुपर्नेछ ।
दरखास्त दस्तुर दुई हजार रुपैयाँ तोकिएको छ । उक्त रकम लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको बोर्डको खातामा जम्मा गरी त्यसको प्रमाण इमेलमार्फत पठाउन सकिने बोर्डले जनाएको छ ।




















