खगेन्द्र सुनार प्रकरणः तुरून्त अनुसन्धान र कारबाही गर्न माग

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २७, मंगलबार १०:४०

काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक भएपछि पीडित महिला र उनका नाबालक बच्चाको सुरक्षामा तत्काल ध्यान दिन सरकार र प्रहरीसँग माग गरेकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अडियोमा महिला सांसद र उनका बच्चालाई अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको सुनिने उल्लेख गरेकी छन् । उक्त अडियो जनआस्थाले सार्वजनिक गरेको र त्यसमा सुनिएका विषय गम्भीर रहेको उनको भनाइ छ ।

झाँक्रीले बच्चालाई समेत लक्षित गरी धम्की दिइएको विषयलाई सामान्य रूपमा लिन नहुने बताएकी छन् । उनले घटनाले महिला र बच्चाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै नेपाल प्रहरीलाई तत्काल सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,’ झाँक्रीले लेखेकी छन्, ‘नेपाल प्रहरीले यसमा गम्भीर बनेर तत्काल सुरक्षा प्रबन्ध गरोस् ।’

उनले पीडित महिला र बच्चाको सुरक्षा सुनिश्चित गरेपछि घटनाबारे तत्काल अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनी कारबाही अघि बढाउन माग गरेकी छन् । साथै, रास्वपा सभापति रवि लामिछानेको ध्यानाकर्षण गराउँदै पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन् ।

झाँक्रीका अनुसार सार्वजनिक भएको भनिएको अडियोमा सुनिने गालीगलौज र धम्कीले पीडितमा भय र मानसिक दबाब सिर्जना गर्न सक्ने भएकाले तत्काल सुरक्षा व्यवस्था मिलाउन आवश्यक छ । यद्यपि, अडियोमा सुनिएका विषय र त्यसको सत्यतथ्यबारे सम्बन्धित निकायको अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.