
विराटनगर । रुसी साहित्यकार आन्तोन चेखभको चर्चित एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ । यसअघि काठमाडौंमा मञ्चन गरिएको योट नाटक असोज २८ गते बुधबार र २९ गते बिहीबार विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा प्रदर्शन गर्न लागिएको हो ।
शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी र आरोहण गुरुकुल विराटनगरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । महेश पौड्यालले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन नवराज बुढाथोकीले गरेका छन् । नाटकमा वरिष्ठ अभिनेता सुनिल पोखरेल र सब्बु गुरुङ मुख्य भूमिकामा छन् ।
नेपाल–रुस रंग सप्ताहका अवसरमा काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन गरिएको नाटकले अब विराटनगरका दर्शकमाझ कलाकारको जीवन, रंगमञ्चप्रतिको समर्पण र एक्लोपनको कथा प्रस्तुत गर्नेछ ।

नाटकको कथा ६८ वर्षीय वृद्ध हास्यकलाकार भसिलि स्भियतलोभिडोभको जीवनमा केन्द्रित छ । ४५ वर्ष रंगमञ्चमा बिताएका भसिलि एक दिन नाटक सकिएपछि ड्रेसिङ रुममै निदाउँछन् । ब्युँझिँदा नाटकघर सुनसान, अँध्यारो र चिसो भइसकेको हुन्छ ।
त्यस साँझ दर्शकले उनको अभिनयको प्रशंसा गर्दै १६ पटकसम्म ‘वान्स मोर’ भनेका हुन्छन् । तर, घर फर्कने बेला उनलाई साथ दिने कोही हुँदैन । सुनसान नाटकघरमा एक्लिएका उनी आफ्नो विगत, वर्तमान र लामो रंगमञ्चीय यात्रालाई सम्झन थाल्छन् ।
सम्भ्रान्त परिवारमा जन्मिएका र सेनामा समेत काम गरिसकेका भसिलिले सुखद भविष्यको सम्भावना छाडेर रंगमञ्च रोजेका हुन्छन् । तर, कलाकारका रूपमा उनले समाजबाट पाएको व्यवहारले उनलाई निराश बनाएको हुन्छ । प्रेम गरेकी युवतीले विवाहका लागि नाट्यकर्म छाड्नुपर्ने सर्त राखेपछि कलाकारको पेसा र सामाजिक स्वीकार्यताबीचको द्वन्द्व पनि कथामा उजागर हुन्छ ।
नाटकमा सब्बु गुरुङले निकिताको भूमिका निर्वाह गरेकी छन् । बस्ने घर नभएकी निकिता राति ओत लाग्न ड्रेसिङ रुममा आइपुग्छिन् । सुनसान नाटकघरमा भसिलि र निकिताबीच हुने संवादबाट कलाकारको जीवन, एक्लोपन र समाजसँगको सम्बन्धका विभिन्न पाटा खुल्दै जान्छन् ।

भसिलिको भूमिकामा पोखरेलले वृद्ध कलाकारको निराशा, आवेग र आन्तरिक पीडालाई प्रस्तुत गरेका छन् । दृश्य परिवर्तन नगरी अघि बढ्ने नाटकमा भसिलिले आफ्नो विगत सम्झने क्रममा शेक्सपियरका ‘किङ लियर’, ‘ह्यामलेट’ र ‘ओथेलो’ तथा पुश्किनका संवादसमेत प्रस्तुत गर्छन् ।
नाटकले मञ्चमा पाइने ताली र प्रशंसाभन्दा बाहिर कलाकारको व्यक्तिगत जीवनमा रहने संघर्ष, असुरक्षा र एक्लोपनलाई उजागर गर्छ । लामो समय रंगमञ्चमा बिताएका पोखरेलको अभिनयमार्फत कलाकारको जीवनका यी पक्षलाई दर्शकसामु प्रस्तुत गरिएको छ ।
आरोहण गुरुकुलका निर्देशक सुनिल पोखरेलका अनुसार नाटक असोज २८ गते अपराह्न ५ बजे तथा २९ गते दिउँसो १ बजे र अपराह्न ५ बजे मञ्चन हुनेछ ।



















