फाइल फोटो ।विराटनगर । सुनसरीको देवानगन्जमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट ५७ किलो गाँजा बरामद गरेको छ । प्रहरीलाई देखेपछि मोटरसाइकल चालक र गाँजा बोकेका व्यक्ति फरार भएका छन् ।
देवानगन्ज गाउँपालिका–४ मेहता टोलबाट मंगलबार राति ५१ किलो र वडा नम्बर ६ स्थित रासी–साहेवगन्ज भित्री सडकखण्डबाट ६ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी कप्तानगन्जबाट खटिएको संयुक्त टोलीले राति साढे ८ बजे मेहता टोलमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकललाई रोकेको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ चालक मोटरसाइकल छाडेर फरार भएका थिए । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो प्लास्टिकमा बेरेर राखिएको ५१ किलो गाँजा फेला पारेको थियो ।
त्यसको १५ मिनेटपछि देवानगन्ज–६ स्थित रासीबाट साहेवगन्जतर्फ जाने भित्री सडकखण्डमा खटिएको प्रहरी टोलीले थप ६ किलो गाँजा बरामद गरेको हो । रासीबाट साहेवगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि पहेँलो झोला फालेर फरार भएका थिए ।
उक्त झोला जाँच गर्दा ६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय देवानगन्जमा ल्याएर थप अनुसन्धान भइरहेको छ । फरार मोटरसाइकल चालक तथा गाँजा बोकेका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























