भोजपुरमा हराउँदै कमेरोले घर पोत्ने चलन

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १०:०९

भोजपुर । गाउँघरमा दसैँ नजिकिएसँगै घरका भित्तामा माटो र कमेरो लगाएर लिपपोत गर्ने परम्परा हराउँदै गएको छ । विगतमा सेतो, पहेँलो, रातो तथा कालो माटोले घर सजाउने चलन रहे पनि पछिल्लो समय बजारमा पाइने चुन र आधुनिक रङको प्रयोग बढेपछि यो परम्परा ओझेलमा पर्दै गएको हो ।

पहिले दसैँ आउनुअघि खोला, खोल्सी तथा डाँडापाखाबाट माटो र कमेरो खोजेर ल्याउने, त्यसलाई तयार पार्ने र परिवारका सदस्य मिलेर घर पोत्ने चलन थियो । अहिले बजारमा सहजै पाइने सामग्रीले घर सफा र आकर्षक बनाउन सजिलो भए पनि परम्परागत लिपपोतसँग जोडिएको मौलिकता हराउँदै गएको छ ।

नयाँ पुस्ताले पुरानो शैलीमा घर पोत्ने अभ्यास कम गर्दै जाँदा परम्परागत सीप र अनुभवसमेत हराउने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीय भीमराज विष्ट बताउँछन् । पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरका भित्ता पोत्ने चलन व्यापक रहेको उनी सम्झन्छन्। अहिले बजारमा पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालेपछि कमेरो खोज्ने झन्झट कम भएको उनको भनाइ छ ।

‘पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपर्थ्यो,’ उनले भने, ‘घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ। त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।’

समयसँगै घर निर्माणको शैली, जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ । पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्टका पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत शैलीलाई क्रमशः विस्थापित गर्दै लगेको छ ।

कमेरो लगाउने चलन घर सजाउने माध्यम मात्रै नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीय मनमाया विष्ट बताउँछिन् । उनका अनुसार बजारमा पाइने सामग्रीको प्रयोगले घर लिपपोत गर्न सहज भए पनि त्यससँग जोडिएको गाउँघरको मौलिक परम्परा भने हराउने अवस्थामा पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×