
विराटनगर । बेड र म्याट्रेसको गुणस्तरीय छनोटदेखि बजेटअनुसारका विकल्पसम्म उपलब्ध गराउने उद्देश्यसहित विराटनगरमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ । स्टुडियोमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड तथा म्याट्रेस उपलब्ध रहेको बताइएको छ ।
स्टुडियोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशी उत्पादनको प्रयोग बढाउन र स्थानीय उद्योग व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रवर्द्धनले स्थानीय उद्योगको विकाससँगै आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने धारणा राखे ।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टारले विराटनगर र आसपासका उपभोक्तालाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गरेको हो । ग्राहकको आवश्यकता, रुचि र आर्थिक क्षमताअनुसार बेड तथा म्याट्रेसका विभिन्न विकल्प एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको बताइएको छ ।
स्टुडियोमा सामान्य बजेटदेखि उच्च मूल्यका उत्पादनसम्म उपलब्ध रहेकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार छनोट गर्न सक्ने सञ्चालकको अपेक्षा छ । बेड तथा म्याट्रेसलाई मात्रै प्राथमिकतामा राखेर सञ्चालन गरिएको स्टुडियोले विराटनगरको बजारमा फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।
सञ्चालक दिवस बजगाईंले बेड र म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको यो स्टुडियो नेपालकै पहिलो भएको दाबी गरे । एउटै स्थानबाट विभिन्न मूल्य र गुणस्तरका उत्पादनबारे जानकारी लिई उपयुक्त विकल्प छनोट गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।



















