घाँटीमा मासु र हड्डी अड्किए के गर्ने ?

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार १३:२८

काठमाडौं । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

बढी चिल्लो तथा बोसोयुक्त मासुले केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढाउन सक्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताए । दसैँमा मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने भएकाले सतर्क रहनुपर्ने उनको भनाइ छ ।

चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ । पेटको अम्ल घाँटीसम्म फर्किने अवस्थालाई एसिड रिफ्लक्स भनिन्छ । यसका कारण घाँटी तथा छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने वा खसखस महसुस हुन सक्छ ।

घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुने डा. गुप्ताले बताए । यस्तो अवस्थामा आफूलाई सहज हुने र पचाउन सजिलो खानेकुरा खानुका साथै पर्याप्त पानी पिउनुपर्ने उनले सुझाव दिए ।

दसैँमा मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किए निल्न गाह्रो हुने, घाँटी दुख्ने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न कठिन हुने र ज्यानै जोखिममा पर्न सक्ने चिकित्सकको भनाइ छ ।

मासु वा हड्डी घाँटीमा अड्किएको शंका भएमा औँला घाँटीभित्र हालेर निकाल्ने प्रयास गर्न नहुने डा. गुप्ताले बताए । त्यस्तै, भात, रोटी वा अन्य खानेकुरा निलेर अड्किएको वस्तुलाई तल धकेल्ने प्रयास गर्दा घाँटीमा चोट लाग्न सक्ने भएकाले त्यसो नगर्न उनले सुझाव दिए ।

अड्किएको वस्तुका कारण निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था आएमा तत्काल अस्पताल जानुपर्छ । सास फेर्न, बोल्न वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था भएमा श्वासनलीमा अवरोध भएको हुन सक्ने भएकाले तत्काल आपतकालीन सहायता लिनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×