
केबल चोरीको घटनापछि ट्राफिक लाइट जडानको जिम्मा पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीले प्रहरीमा उजुरी दिएको छ। नारायणगढको व्यस्त बजार क्षेत्रको मुख्य चोकमै तार काटेर चोरी गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
निर्माण कम्पनीका सञ्चालक सुमन थापाका अनुसार चोरहरूले केबल काटेर लगेपछि नयाँ तार जडान गर्नुपर्ने अवस्था आएको छ। प्रयोग गरिएका केबल नेपालमा सहजै उपलब्ध नहुने र काटिएका तार जोडेर पुनः सञ्चालन गर्न नसकिने भएकाले समस्या थपिएको उनले बताए।
‘यस्ता केबल नेपालमा पाइँदैनन् र काटिएको केबल जोडेर पनि काम गर्न सकिँदैन,’ थापाले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ।’ उनका अनुसार विदेशबाट केबल ल्याएर जडान गर्न कम्तीमा एक महिना लाग्नेछ।
भरतपुर महानगरपालिकाका विभिन्न ६ वटा प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ। पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक तथा बाइपास सडकअन्तर्गत पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएका छन्।
सवारीसाधनको चाप बढी हुने र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको हो। यसका लागि ६ मिटर लामो आर्म भएका सात मिटर अग्ला भेहिकल पोल तथा पैदलयात्रीका लागि छुट्टै पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ।
गत वर्ष नै सम्पन्न हुनुपर्ने ट्राफिक लाइट जडानको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो। सडक विस्तारपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा चुनौती बढ्दै गएपछि ट्राफिक लाइट जडानलाई महत्त्वका साथ अघि बढाइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थित गर्न सहज हुने बताए। उनका अनुसार ट्राफिक लाइटको ब्याकअप व्यवस्थापन र सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै गरिनेछ।
ट्राफिक बत्तीको सञ्चालन तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत गरिने व्यवस्था छ। कुन चोकमा कति समयसम्म रातो, पहेँलो वा हरियो बत्ती बाल्ने भन्ने नियन्त्रण तथा नियमन पनि त्यहीँबाट गरिनेछ।
भरतपुर महानगरपालिकाका ६ वटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।
तोकिएको समयमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई दैनिक पाँच हजार रुपैयाँका दरले जरिवाना लगाउँदै निर्माण कार्य अघि बढाइएको थियो। तर, शहीदचोकमा केबल चोरी भएपछि ट्राफिक लाइटको परीक्षण र सञ्चालनमा थप ढिलाइ हुने भएको छ। यसले नारायणगढका व्यस्त चोकमा सवारी व्यवस्थापन सहज बनाउने योजनालाई समेत प्रभावित पारेको छ।

























