महाष्टमीका दिन भद्रकाली मन्दिर भक्तजन
काठमाडौ, २ कात्तिकः बडा दशैँ महाष्टमीका दिन सोमबार काठमाडौँको भद्रकाली मन्दिरका दर्शन एवं पूजाआराधना गर्न आउनेको घुइँचो। तस्बिरः रत्न श्रेष्ठ÷राससकाठमाडौं । नवरात्रको नवौँ दिन आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।
तिथि वृद्धि भएका कारण आज पनि काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा महाअष्टमी मनाइँदै छ । गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती मन्दिर तथा शक्तिपीठ ध्वजापताकाले सिँगारिएका छन् ।
काठमाडौं उपत्यकानजिकैको दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा पनि भक्तजनको घुइँचो लागेको छ ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन र पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।



















