
खोटाङ । खोटाङमा आर्थिक अभाव वा यातायात सेवाको पहुँच नहुँदा दसैँ-तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी ‘दसैँ-तिहार, चेलीलाई उपहार अभियान-२०८३’ सञ्चालन हुने भएको छ ।
जिल्लामा क्रियाशील युवाको एक समूहले तीन वर्षदेखि सञ्चालन गर्दै आएको अभियानअन्तर्गत यस वर्ष पनि दुई चरणमा निःशुल्क यातायात सेवा उपलब्ध गराउने तयारी गरेको हो । अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँका अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म र तिहारका अवसरमा कात्तिक २४ देखि २६ गतेसम्म सेवा सञ्चालन गरिनेछ ।
‘यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरेका छौँ’, उनले भने ।
अभियानमा महिला, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ । आवश्यकताअनुसार पुरुषलाई पनि सेवा उपलब्ध गराइने संयोजक राईले बताए ।
अभियानमा सहभागी हुन हालसम्म ३५ जना युवाले नाम दर्ता गराएका छन् । स्वयंसेवा गर्न इच्छुक युवाहरू थपिने क्रम जारी रहेको राईले जानकारी दिए ।
‘मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्डसहित जिल्लाका ग्रामीण सडकमा ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ’, उनले भने ।
अभियानको सेवा लिन चाहनेहरूले पनि आफ्नो विवरण टिपाउन थालेका छन् । विवरण टिपाउनेमध्ये सुरुमा नाम दर्ता गराएकालाई प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा उपलब्ध गराइनेछ ।
निःशुल्क सेवा लिने यात्रुले बढीमा पाँच किलोग्राम तौलसम्मका झोला मात्रै साथमा राख्न पाउनेछन् । जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर झोलाको तौल निर्धारण गरिएको संयोजक राईले बताए ।
यस अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनाले निःशुल्क यातायात सेवा लिएका थिए । शुभेच्छुकहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानमा एकपटक करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ ।



















