नेपालसहित तीन देशका याकपालक संगठित हुँदै

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ११:१४

काठमाडौं। नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ । भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका बेला कृषक, सरकार र विकास साझेदारबीच सहकार्य विस्तार गर्न सञ्जाल स्थापना गर्न लागिएको हो ।

महोत्सवमा भुटानका राजा र प्रधानमन्त्रीको उपस्थिति रहने इसिमोडले जनाएको छ । सञ्जालले याकपालक कृषकबीच ज्ञान आदानप्रदान, सामूहिक पैरवी, क्षमता विकास र सीमापार सहकार्यलाई प्राथमिकता दिनेछ । कृषकद्वारा स्थापित तथा उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व रेनडियर कृषक सङ्घबाट प्रेरित सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकले गर्नेछन् । यसको सचिवालय भुटानमा रहनेछ ।

महोत्सवमा नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक महासङ्घ, सरकारी प्रतिनिधि, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार तीनै देशका याकपालक समुदायले याकको सङ्ख्या घट्दै जानु, चरन क्षेत्र खुम्चिनु र क्षयीकरण हुनु, जलवायु परिवर्तन, आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट पशुधनमा क्षति तथा बजार र सेवामा सीमित पहुँचजस्ता समस्या भोगिरहेका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रबाट युवाको बसाइँसराइले पनि परम्परागत याकपालन प्रभावित भएको छ ।

यी समस्या राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएकाले समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको दोर्जीले बताए । उनका अनुसार सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्न, स्वस्थ चरन क्षेत्र संरक्षण गर्न र याकका आनुवंशिक स्रोत जोगाउन सहयोग पुर्‍याउनेछ ।

क्षेत्रीय याक कृषक सञ्जालको अवधारणा सन् २०१६ मा अघि सारिएको थियो । त्यसबेला इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत नेपाल, भुटान र भारतका याकपालक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए ।

सन् २०१८ मा तीनै देशका प्रतिनिधि नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भई विश्व रेनडियर कृषक सङ्घसँग अन्तरक्रिया गरेका थिए । उक्त सङ्घको सीमापार सहकार्यको मोडेलबाट प्रेरित भएर हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो ।

क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि तीनै देशले आफ्ना राष्ट्रिय महासङ्घ गठन गर्ने सहमति गरेका थिए । सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घ औपचारिक रूपमा गठन भएका थिए ।

सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दसौँ सम्मेलनमा महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जाल स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । प्रस्तावित सञ्जालको औपचारिक सुरुआतलाई तीनै देशका याकपालक समुदायबीच लामो समयदेखि हुँदै आएको सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×