प्रदर्शन हिंसात्मक बनेपछि शान्ति कायम गर्न राष्ट्रपतिको आह्वान

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ११:३१

एजेन्सी । फ्रान्सका विभिन्न सहरमा विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटना भएपछि राष्ट्रपति इमानुएल म्याक्रोंले शान्ति र सुव्यवस्था कायम गर्न आह्वान गरेका छन् ।

एलिसी दरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोंले प्रदर्शनकारीलाई हिंसात्मक गतिविधि नगर्न आग्रह गरेका हुन् । नागरिकको आक्रोश र असन्तुष्टिलाई बुझ्नुपर्ने बताउँदै उनले शान्तिपूर्ण विरोध र तोडफोड तथा लुटपाटमा संलग्न गतिविधिबीच फरक छुट्याउनुपर्नेमा जोड दिएका छन् ।

हिंसालाई कुनै पनि अवस्थामा उचित ठहराउन नसकिने उल्लेख गर्दै म्याक्रोंले तोडफोड र लुटपाटमा संलग्न व्यक्तिले कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार चार सयभन्दा बढीलाई पक्राउ गरेको छ । कालो कपडा र अनुहार छोप्ने मास्क लगाएका केही समूहले गाडी तथा भवनमा आगजनी गर्नुका साथै विभिन्न पसलमा लुटपाट गरेका थिए ।

गत शनिबार राजधानी पेरिस, मार्सेली लगायतका सहरमा हिंसात्मक घटना भएका थिए । आइतबार पनि पेरिसका केही क्षेत्रमा अशान्ति कायम रहेको समाचारमा जनाइएको छ ।

इन्धनको मूल्य वृद्धि, जीवनयापनको बढ्दो खर्च तथा विद्यालयलगायत सार्वजनिक सेवाको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्सभर झण्डै पाँच लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शनका क्रममा पछि केही स्थानमा हिंसात्मक घटना भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×