
विराटनगर । नेपाल–चीन जोड्ने रणनीतिक महत्त्वको खाँदबारी–किमाथांका सडकखण्ड तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। संखुवासभाको भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठुला चट्टानसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक नेपाली सेनाको सहयोगमा हटाइएपछि सोमबार साँझदेखि यातायात सञ्चालनमा आएको हो ।
गत साउनमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयवासीको आवागमन, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा उत्तरी सीमावर्ती क्षेत्रसँगको सम्पर्क प्रभावित भएको थियो । पहिरोमा ठुला र कडा चट्टान खसेका कारण सामान्य उपकरणबाट हटाउन सम्भव नभएपछि उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनाको सहयोग मागेको थियो ।
आयोजनाको आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) मार्फत ठुला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक पुनः सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।
गुरुङका अनुसार भौगोलिक विकटता र कडा चट्टानका कारण पहिरो हटाउने काम निकै चुनौतीपूर्ण थियो। ‘भोटखोला–२ स्थित छुम्सुरमा ठुला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो,’ उनले भने।
खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथांकाबाट करिब २१ किलोमिटर दूरीमा रहेको छुम्सुर सडकखण्ड अवरुद्ध हुँदा उत्तरी क्षेत्रका बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका थिए। सडक पुनः सञ्चालनमा आएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु तथा अन्य सामान ढुवानीमा राहत पुग्ने अपेक्षा गरिएको छ।
खाँदबारी–किमाथांका सडक कोशी प्रदेशलाई चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधार हो। किमाथांका नाका सञ्चालनमा आउँदा नेपाल–चीन व्यापारिक सम्बन्ध विस्तार हुनुका साथै भारतसँगको सीमावर्ती क्षेत्र जोगबनीसम्मको सडक सम्पर्कलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल–चीन व्यापारिक आवागमनका अन्य प्रमुख नाका रसुवागढी र तातोपानीका सडकसमेत प्राकृतिक विपद् तथा सडक अवरोधका कारण प्रभावित भइरहेका बेला किमाथांका सडकखण्ड सञ्चालनमा आउनुलाई उत्तरी सीमासम्मको पहुँचका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
खाँदबारी–किमाथांका सडकको कुल १६२ किलोमिटरमध्ये १०.८ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । अत्यन्त विकट भूगोल र कडा चट्टानका कारण निर्माण चुनौतीपूर्ण बनेपछि सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी सडक निर्माण सम्पन्न गरेको थियो। उक्त सडकखण्ड गत वैशाखमा हस्तान्तरण गरिएको थियो।
वर्षायाममा पहिरो खस्ने र ठुला चट्टान झर्ने जोखिमका कारण यस सडकमा यातायात सञ्चालन चुनौतीपूर्ण रहँदै आएको छ। सडकको नियमित मर्मतसम्भार र अवरोध हटाउने कामलाई प्रभावकारी बनाउन सके उत्तरी सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

























