
विराटनगर । तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता अब घट्ने भएको छ। दसैँमा गाउँ फर्किने यात्रु तथा तराईका सहरमा आवतजावत गर्ने सर्वसाधारणलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालनमा ल्याइएको छ। आइतबारदेखि सुरु भएको जलयात्राले दक्षिणी भोजपुरका बासिन्दालाई धरान, इटहरी र विराटनगरलगायतका सहरसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।
अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा कठिनाइ भोग्दै आएका स्थानीयलाई जेटबोट सेवाले राहत पुर्याउने भएको छ। नदीमा पानीको बहाव बढेपछि गत जेठको अन्तिम सातादेखि बन्द रहेको जलयात्रा दसैँलाई लक्षित गरी पुनः सञ्चालनमा ल्याइएको हो।
स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेदेखि बराह क्षेत्रसम्मको जेटबोट भाडा प्रतियात्रु ५०० रुपैयाँ निर्धारण गरिएको छ। करिब १९ किलोमिटर नदीको दूरी जेटबोटबाट २० देखि २५ मिनेटमै पार गर्न सकिने भएपछि यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता कम हुने भएको छ।
दक्षिणी भोजपुरका स्थानीय जेटबोटमार्फत बराह क्षेत्र हुँदै धरान, इटहरी र विराटनगरलगायतका सहरमा आवतजावत गर्ने गर्छन्। विशेषगरी चाडपर्वका बेला गाउँ फर्किने तथा कामकाजका लागि तराई झर्ने यात्रुका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
हतुवागढी गाउँपालिकाले जलयात्रालाई यातायातको सहज माध्यममा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तारसँग जोड्ने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

























