
ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ मा चार जनाको समूहले मोटरसाइकल चालकलाई कुटपिट गरी चार लाख ३५ हजार रुपैयाँ लुटेको छ ।
सोमबार साँझ ६:२० बजे काठमाडौँबाट आउँदै गरेका खिजीदेम्बा गाउँपालिका-२ का ३३ वर्षीय सविन रोकालाई नाम, थर र वतन नखुलेका चार जनाले मोटरसाइकल रोकेर लुटपाट गरेका हुन् । उनीहरूले लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकेका थिए ।
रोकाले बोकेको रातो झोलामा रहेको नगद चार लाख ३५ हजार रुपैयाँसहित ट्र्याकसुट एक थान, हेल्मेट एक थान, महिलाले लगाउने स्वेटर एक थान, प्याज एक किलो र टमाटर एक किलोसमेत लुटेर लगेका छन् ।
लुटपाटका क्रममा कुटपिट हुँदा रोकाको निधारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे साँझ ६:३० बजे प्रहरी चौकी रगनीमा खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान तथा लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ ।

























