महानवमी अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार ११:३७

काठमाडौं । नवरात्रको नवौँ दिन आज (मंगलबार) महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । दसैँ घर, कोत, देवीमन्दिर तथा शक्तिपीठमा दुर्गा भवानीको पूजा, दुर्गा सप्तशती चण्डी, देवीभागवत र देवीस्तोत्र पाठ गरी महानवमी मनाउने परम्परा छ ।

महानवमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणीमा विशेष पूजा तथा दर्शनका लागि भक्तजन पुग्ने गर्छन् ।

त्यस्तै, उपत्यकाबाहिर नवलपुरको मौलाकालिका, विराटनगरको काली मन्दिर, इलामको माईस्थान र सिंहवाहिनी मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

महानवमीमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गा देवीको विशेष पूजा आराधना गरिन्छ । यसरी नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।

भोलि बुधबार दसैँको मुख्य दिन विजयादशमी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा छ । त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ ।

यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले कालरात्रि पूजाको समय पनि फरक परेको थियो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा अघिल्लो दिन गरिएको थियो भने राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा सोमबार राति गरिएको थियो ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार हनुमानढोका दरबारमा महाअष्टमीका कर्म सम्पन्न गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा आराधनालगायत कर्म गर्ने परम्परा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×