
बागलुङ । बडादसैँ सुरु भएसँगै बागलुङका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । तर, असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षापछि सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदा प्रसिद्ध कालिका भगवती मन्दिरमा यस वर्ष भक्तजनको सङ्ख्या घटेको छ ।
नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक कालिका भगवती मन्दिरमा नवरात्र सुरु भएसँगै पूजा गर्ने भक्तजन पुग्न थालेका छन् । मन्दिरमा देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्छन् ।
बागलुङको रामरेखास्थित रमणीय वनको बीचमा रहेको कालिका भगवती मन्दिरमा बडादसैँ र चैतेदसैँका अवसरमा विशेष पूजाआराधना हुने गर्छ । नवरात्रका बेला बिहानैदेखि भक्तजन पूजाका लागि लाइनमा बस्ने गरेका छन् । यहाँ पूजा गरे मनले चिताएको पूरा हुने जनविश्वास छ ।
मन्दिरको इतिहास पर्वतका तत्कालीन राजा प्रतापी नारायण मल्लसँग जोडिएको छ । उनले १५९१ सालमा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाइजोस्वरूप दिएको देवीको मूर्ति यहाँ ल्याइएको इतिहास छ । मूर्ति ल्याउँदा हलचल नभएपछि यहीँ मन्दिर निर्माण गरी पूजाआराधना गर्न थालिएको जनश्रुति छ ।
वास्तुकलात्मक महत्त्व र धार्मिक आस्था बोकेको कालिका भगवती मन्दिरमा नवरात्रका साथै शनिबार र मंगलबार पनि भक्तजनको चहलपहल हुने गर्छ । भक्तजनले मन्दिरमा रोट, नरिवल तथा विभिन्न फलफूल चढाएर पूजा गर्ने गर्छन् ।



















