
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् ।
उनले विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् ।
उनले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा उल्लेख गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उनले उल्लेख गरेका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने परम्पराले आपसी आत्मीयता बढाउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध गर्न सहयोग गर्ने बताएका छन् । यस पर्वले वर्षौँदेखि छुट्टिएका साथीभाइ तथा आफन्तसँग आत्मीयता साट्ने अवसरसमेत प्रदान गर्ने उनले उल्लेख गरेका छन् ।
अन्त्यमा उनले सबैलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आग्रह गरेका छन् ।



















