तोडफोड र आगजनीको आरोपमा वडाध्यक्ष पक्राउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १०:१८

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता भएको थियो ।

गोलबजारको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।

प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनी घर आएको सूचनाका आधारमा खोजतलास गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । घटनामा अनवरको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×