झापामा भूमिगत डिजेल ट्यांकी विस्फोट हुँदा आगलागी, एक जना घाइते

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार ०७:५५

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।

आइतबार राति साढे ७ बजेतिर जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको हो। उक्त ट्यांकीमा करिब ९ हजार ५०० लिटर लाइट डिजेल भण्डारण गरिएको थियो।

आगलागीमा परी टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ। घटनामा टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ।

आगो नियन्त्रणमा लिन प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको दमकल तथा कम्पनीका कर्मचारी खटिएका थिए। ट्यांकी विस्फोट हुनुको कारणबारे भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×