उद्योगीका समस्या समाधान गर्न रास्वपाको ध्यानाकर्षण

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार ०७:०१
उद्योगीका समस्या समाधान गर्न रास्वपाको ध्यानाकर्षण

विराटनगर । उद्योग व्यवसायमा देखिएका नीतिगत जटिलता, उत्पादन लागत वृद्धि, निर्यातमा अवरोध र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको विषयमा उद्योग संगठन मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएको छ ।

संगठनद्वारा आयोजित छलफलमा रास्वपाकी अर्थ विभाग प्रमुख लिमा अधिकारीले उद्योगी व्यवसायीका समस्या समाधानका लागि पार्टी तथा संसद्मार्फत आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गर्ने बताइन् ।

कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले औद्योगिक विकास, उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनका लागि आवश्यक सुधारमा जोड दिए । उनले विद्युत् आपूर्ति, कर्जाको सहजीकरण, कर प्रणाली, भन्सार तथा पूर्वाधार निर्माणलगायत विषयमा उद्योगीले भोगिरहेका समस्या समाधान गर्न आग्रह गरे ।

हुलाकी राजमार्गको कटहरी–विराटनगर खण्डको निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरीय विद्युत् आपूर्ति, उधारो कारोबार व्यवस्थापनका लागि छुट्टै ऐन, चेक अनादरसम्बन्धी व्यवस्था, कर्जा प्रक्रियाको सरलीकरण, जी.आई. तार उद्योगको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क हटाउने, विद्युत्मा लाग्ने भ्याट पुनरावलोकन, स्वदेशी उत्पादनलाई ठूला परियोजनामा प्राथमिकता, वातावरणीय अध्ययन प्रक्रियाको सरलीकरण, आईसीपी कार्गो रेलको नियमित सञ्चालन तथा खुला सिमानाको प्रभावकारी व्यवस्थापनलगायतका समस्या दुलालले राखेका थिए ।

कार्यक्रममा जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले नेपाली जुट उद्योगको निर्यातमा देखिएका समस्या तथा भारतको पछिल्लो निर्णयबाट उद्योगमा पर्न सक्ने असरबारे जानकारी गराउँदै उद्योगको संरक्षण र निर्यात समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायमार्फत तत्काल आवश्यक पहल गर्न अनुरोध गरे ।

छलफलमा रास्वपाका नेता तथा उद्योग संगठनका पदाधिकारीहरूले उद्योग व्यवसायमैत्री नीति निर्माण, स्वदेशी उत्पादनलाई प्राथमिकता र लगानीमैत्री वातावरण निर्माणका विषयमा धारणा राखेका थिए ।

उद्योग संगठन मोरङले उद्योगीका समस्या पहिचान गरी नीतिगत पैरवी तथा सरकार र राजनीतिक दलसँग रचनात्मक संवादलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×