इनम प्रकरणमा फरक–फरक दाबी, सम्बन्ध अस्वीकारदेखि अनुसन्धानलाई समर्थनसम्म

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ०६:३४

काठमाडौं । इनम सापकोटासँग सम्बन्ध जोडिएको विवरण सार्वजनिक भएपछि न्यायिक क्षेत्रका उच्च पदाधिकारी र राजनीतिक व्यक्तित्वले आफ्नो बचाउमा छुट्टाछुट्टै धारणा सार्वजनिक गरेका छन् ।

प्रधान न्यायाधीश मनोजकुमार शर्मा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेलले सापकोटासँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले भने उनीसँग भेटघाट र चिनजान रहेको स्वीकार गर्दै आफ्नै पहलमा अनुसन्धान अघि बढेको बताएका छन् ।

प्रधान न्यायाधीश शर्मा र पोखरेलले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूहरूको नाम जोडेर अमेरिकामा रकम जम्मा गरिएको भनिएका विवरणप्रति आपत्ति जनाएका हुन् । उनीहरूले सार्वजनिक भएका सामग्रीले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास गरेको उल्लेख गर्दै सापकोटा तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

शर्माले आफू प्रधान न्यायाधीश नियुक्त हुनुभन्दा पहिल्यै प्रधान न्यायाधीश भएको देखाउने गरी सार्वजनिक गरिएको कागजातमा सत्यता नरहेको दाबी गरेका छन् । तर, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको नामसमेत जोडिएको अमेरिकामा रकम जम्मा भएको भनिएको कागजात पनि सार्वजनिक भएको छ । उक्त कागजात नेपाल प्रहरीले प्रमाणित गरेको देखिन्छ ।

सार्वजनिक विवरणअनुसार जनवरी, नोभेम्बर र डिसेम्बर गरी तीन महिनाको अवधिमा तीन जनाको नाममा १ लाख ९८ हजार ३ सय ३३ रकम जम्मा भएको उल्लेख छ । कर कट्टीपछि उक्त रकम १ लाख ७४ हजार ३ सय ३३ हुने देखाइएको छ । यद्यपि, कागजातमा उल्लिखित रकम अमेरिकी डलर हो वा नेपाली रुपैयाँ भन्ने स्पष्ट खुलेको छैन ।

यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले भने सापकोटासँग आफ्नो चिनजान र भेटघाट रहेको स्वीकार गरेका छन् । तर, त्यसलाई न्यायिक विचलनसँग जोड्न नमिल्ने उनको दाबी छ । बिहीबार दिउँसो निकटका पत्रकारहरूसँग कुरा गर्दै फुयालले सापकोटाका गतिविधिप्रति शंका लागेपछि आफ्नै उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताएका थिए ।

उनले आफू मात्र नभई अन्य न्यायाधीशहरूले समेत सापकोटासँग समय–समयमा एक्लाएक्लै भेटघाट गरेको विवरण सार्वजनिक गरेका छन् । दिउँसो आफ्नो धारणा सार्वजनिक गरेका फुयालले साँझ विज्ञप्ति जारी गर्दै आफूविरुद्ध सार्वजनिक भएका समाचार र विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा उनले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै न्यायिक विचलनसम्बन्धी अनुसन्धानलाई पूर्ण समर्थन र सहयोग गर्ने बताएका छन् । आफूबाट न्यायिक निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने कुनै काम नभएको उनको दाबी छ ।

आफूबारे सार्वजनिक भएका तथ्य र समाचारलाई देश तथा न्यायक्षेत्रमा देखिएको अस्थिरता र असुरक्षाको समग्र परिस्थितिबाट अलग गरेर नहेर्न पनि उनले आग्रह गरेका छन् । अनुसन्धान प्रभावित पार्ने गरी भ्रम, अर्धसत्य र अपूर्ण विवरण सार्वजनिक भइरहेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

सापकोटासँग सम्बन्ध जोडिएका विवरण सार्वजनिक भएपछि एकातिर प्रधान न्यायाधीश र सांसदले सम्बन्ध नै अस्वीकार गरेका छन् भने अर्कोतिर सर्वोच्चका न्यायाधीशले चिनजान र भेटघाट स्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सार्वजनिक कागजातमा देखिएका आर्थिक विवरण, त्यसमा जोडिएका व्यक्तिहरूको भूमिका र उनीहरूबीचको वास्तविक सम्बन्धका बारेमा भने अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.