
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज (बिहीबार) दिउँसो २ बजे पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठक बस्दैछ । बैठकमा सहभागी हुनुपर्ने डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीसँगै सातै प्रदेशका डीआईजीलाई समेत काठमाडौं बोलाइएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई बुधबार नै काठमाडौं आउन भनिएको थियो । सोही निर्देशनअनुसार केही डीआईजी प्रहरी प्रधान कार्यालय पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।
पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने व्यवस्था छ । यस्तो बैठकका लागि प्रदेश प्रहरी प्रमुखलाई समेत बोलाइएपछि प्रहरी संगठनभित्र चासो बढेको छ ।
यद्यपि, सातै प्रदेशका डीआईजीलाई एकैपटक प्रहरी प्रधान कार्यालय बोलाउनुको कारण भने खुलाइएको छैन । उनीहरूको उपस्थितिको उद्देश्य र बैठकमा छलफल हुने विषयका बारेमा प्रहरी प्रधान कार्यालयले औपचारिक जानकारी दिएको छैन ।

























