प्रहरी नेतृत्वमाथिको दबाबदेखि संगठनभित्रको अनुशासनसम्म, साढे ६ घण्टा छलफल

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ०७:३७

काठमाडौं । प्रहरी संगठनको नेतृत्व, आन्तरिक अनुशासन र पछिल्लो समय सार्वजनिक भइरहेका विवादित विषयले प्रहरी प्रधान कार्यालयको उच्चस्तरीय बैठकमा प्रवेश पाएका छन् ।

बिहीबार बसेको प्रहरी प्रधान कार्यालयको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा संगठनको छवि, नेतृत्वमाथि उठेका प्रश्न र प्रहरीभित्रैबाट भइरहेको आलोचनाबारे लामो छलफल भएको छ । दिउँसो सवा २ बजे सुरु भएर साँझ पौने ८ बजे सकिएको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्वलाई लिएर बाहिर भइरहेका टिप्पणीदेखि उनको राजीनामाबारे चलेको चर्चासम्मका विषय उठेको स्रोतले जनाएको छ ।

बैठकमा सहभागी अधिकारीहरूले प्रहरी संगठनमाथि भइरहेका प्रहारको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । तर, कुनै व्यक्तिमाथि लागेका आरोपलाई समग्र प्रहरी संगठनसँग जोड्न नहुने र व्यक्तिको कमजोरीको भारी संगठनले बोक्न नसक्ने मतसमेत बैठकमा व्यक्त भएको बताइएको छ ।

आईजीपी कार्कीलाई राजीनामा दिन दबाब परेको भन्ने चर्चाले पनि बैठकमा स्थान पाएको थियो । केही उच्च प्रहरी अधिकारीले यसबारे जिज्ञासा राखेपछि कार्कीले स्पष्ट जवाफ नदिई घुमाउरो ढंगले प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।

प्रहरीभित्रैबाट संगठन र नेतृत्वविरुद्ध नकारात्मक सूचना सञ्चारमाध्यममा पुर्‍याउने प्रवृत्ति बढेको विषयमा पनि अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए । संगठनको आन्तरिक अनुशासन कमजोर हुँदै गएको र त्यसले प्रहरीको सार्वजनिक छविमा असर पार्न सक्ने भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखिएको थियो ।

सरकार र प्रहरी नेतृत्वबीच सम्बन्ध राम्रो नरहेको तथा आईजीपीमाथि राजीनामाका लागि दबाब सिर्जना गरिएको भन्ने चर्चाका बीच प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेट्ने प्रस्तावसमेत बैठकमा उठेको बताइएको छ ।

यसपटकको पीसीसी बैठकमा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी अधिकारीसँगै सातै प्रदेशका प्रहरी प्रमुख तथा डीआईजीहरूलाई समेत सहभागी गराइएको थियो । सामान्यतया प्रहरी संगठनका नीतिगत विषयमा छलफल र निर्णय गर्ने यस्तो बैठकमा यसपटक भने संगठनको आन्तरिक अवस्था, नेतृत्वमाथि उठेका प्रश्न र बाह्य दबाबका विषयले बढी समय लिएको देखिन्छ । साढे ६ घण्टासम्म चलेको बैठकले प्रहरी संगठनभित्र अहिले देखिएको असहज अवस्थालाई सतहमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.