
विराटनगर । मोरङको रतुवामाईमा बिहीबार राति प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् । घाइते भएकाहरुबाट हतियार र लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।
गोली हानेर प्रहरीले घाइते भएकासहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न गिरोहलाई लक्षित गरेर गोली चलाउनु परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार गोली चलाएर पक्राउ गरिएकाहरुबाट करिब ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र गोली बरामद भएको छ । लागुऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाका आधारमा चेकजाँचका लागि प्रहरी टोली राति करिब ९ः३० बजेतिर रतुवामाई नगरपालिका–६ शनिश्चरेमा पुगेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट इन्स्पेक्टर राकेश यादव नेतृत्वको र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र तत्काल नम्बर नखुलेको अर्को मोटरसाइकलमा आएका तीन जनालाई रोकेको थियो । डीएसपी मिश्रका अनुसार प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए ।
नियन्त्रणमा लिने क्रममा भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयाससमेत भएको उनले बताए । त्यसपछि प्रहरीले प्रतिकारस्वरूप चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरेर आठ राउन्ड गोली चलाएको जानकारी मिश्रले दिए ।
प्रहरीको गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै जनाको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि सुरुमा नगर अस्पताल झुर्किया पठाइएको थियो ।
झुर्कियामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । प्रहरीले गोली लागेर घाइते भएका दुवै जना भारतीय र एक जना नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक दीपक र पुरनसहित मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पक्राउ गरिएको मिश्रले बताए ।
पक्राउ परेकाको साथबाट होममेड पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, करिब ५०० ग्राम खैरो हेरोइन र दुवै मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ ।
प्रहरीले बरामद हतियार एवं लागुऔषधको स्रोत, ओसारपसारको सञ्जाल र घटनामा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरु लागुऔषधका नामुद कारोबारी रहेको प्रहरीले जनाएको छ ।

























